राजारानीमा भेट्रान फुटबलमा बेलायतको टोली सहभागी
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–राजारानीमा चौथो ‘स्व. ज्ञानबहादुर तथा बुद्धिमाया लिम्बू स्मृति अन्तर्राष्ट्रिय हाम्रो राजारानी भेट्रान फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ।
हाम्रो राजारानी भेट्रान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपाल, भारत र बेलायतका गरी ८ वटा भेट्रान फुटबल टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ३५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ७१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ।
आयोजकले सार्वजनिक गरेको खेल तालिकाअनुसार मंसिर ५ गते प्रतियोगिताको उद्घाटन हुनेछ। उद्घाटन खेलमा दिउँसो १२ बजे आयोजक हाम्रो राजारानी भेट्रान एफसी र सतिसाले भेट्रान एफसी केरावारी, मोरङबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन दिउँसो २:३० बजे हाम्रो इटहरी भेट्रान एफसी, सुनसरी र धरान सिटी भेट्रान एफसीबीच दोस्रो खेल हुनेछ।
त्यस्तै, मंसिर ६ गते दिउँसो १२ बजे बेलायतको यूके भेट्रान एफसी र मोरङको एभरेस्ट भेट्रानबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन दिउँसो २:३० बजे भारतको सिक्किमस्थित जेभीसी सिङ्ताम भेट्रान एफसी र झापाको दुधे भेट्रान क्लबबीच खेल हुनेछ। प्रतियोगिताको सेमिफाइनल खेल मंसिर ७ गते र फाइनल खेल मंसिर ८ गते आयोजना हुनेछ।
राजारानी क्षेत्रमा भेट्रान फुटबलको विकास तथा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस प्रतियोगितामा भारत र बेलायतका टोलीसमेत सहभागी हुने भएपछि प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूप दिइएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक गोरखा स्टुडियो रहेको छ भने चौबिसे गाउँपालिका संरक्षक रहेको छ। त्यस्तै, बजार व्यवस्थापन समिति राजारानी सहप्रायोजक तथा चौबिसे गाउँपालिकाका वडा कार्यालयहरू सहयोगी संस्थाका रूपमा रहेका छन्।

