लन्डन । अगामी हप्ता लण्डनमा हुन लागेको ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान २०१७ बेलायत’ विवादमा परेको छ । फ्रान्सबाट सञ्चालित अनलाइन पत्रिका नेपालप्लसले ‘बेलायतमा किनबेच हुँदै सम्मान, लिन इच्छुकलाई निवेदन खुल्ला’ शिर्षकमा समाचार प्रकाशित गर्दै सम्मान किन बेच हुन लागेको खुलासा गरेपछि सो कार्यक्रम विवादमा तानिएको हो ।
उक्त अनलाइनले नेपालबाट आएका एकजना फिल्मी पत्रकारले झोलामा केही थान ट्रफी बोकेर बिक्रीका लागि निवेदन खुल्ला गरेका छन् भन्दै प्रत्येकसंग पैसा उठाएर ५१ जना सम्मलाई पुरस्कार दिने योजना बनाएको दावी गरेको छ । समाचारमा अनलाइनले आयोजक मध्यका एक आरके सुवेदीलाई नक्कली पत्रकारको रुपमा चित्रण गर्दै भनेको छ ‘बक्स अफिस इन्टरनेशनल अवार्ड बाँड्ने सुवेदी न पत्रकारितामा सक्रिय छन्, न कुनै मुलधारको पत्रिकामा लागेका विश्वासयोग्य व्यक्ति हुन् ।’
यसैबीच पत्रकार सुवेदीले आफ्नो फेसबुक टाइमलाइन मार्फत सो समाचारको खण्डन गरेका छन् । उनले समाचारको रहस्य र नियत के हो भन्ने प्रश्न गर्दे भनेका छन्, ‘विश्व परिक्रमा उत्कृष्ट नागरिक सम्मान कार्यक्रमको तयारीको लागि बेलायत दिनरात खटिरहेको छु । अन्जान शहरमा बिना स्वार्थ आयोजना गरिएको यो मेरो व्यक्तिगत अभियान हो । एउटा नामै न सुनिएको अनलाइनमा भ्रमक कुरा लेख्न लगाएर मैले सधैं आदार गरिरहेका व्यक्तित्व निर्माता निर्देशक केपी पाठक, पत्रकार धु्रव लम्साल र बेल्जियम बस्ने दाजु उज्वल केसीले शेयर गर्नु भएको रहेछ । म खासै बाठो पनि छैन् लाटो पनि होइन । त्यसैले तपाईंहरुको खास नियत बुझ्न सकिन । म २१ वर्ष देखि पत्रकारितामै सकृय छु, म खुल्ला किताब भएकोले मैले मात्र होइन सबैले बुझ्ने गरि कमेन्टमै केपी पाठक, ध्रुव लम्साल र बेल्जियम बस्ने उज्वल केसी दाइलाई बुझाइदिनु हुन विनम्र अनुरोध गर्दछु । रहस्य के हो बुझ्नु छ, भेट्नु दोषीलाई विद्युतीय अपराधमा कारबाही गर्नु छ । कुनै न कुनै दिन कतै भेट न भएपनि चौबाटोमा त होलानि ?’
सुवेदीले फेसबुक टाइमलाइन मार्फत आफ्नो धारणा सार्वजनिक गरेपछि यसरी सामाजिक सञ्जालकर्ताहरु वहसमा उत्रिएका छन् । पछिल्लो विवादले कार्यक्रममा प्रमुख अतीथी बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी समेत विवादमा तानिने भएका छन् ।
के हो नागरिक सम्मान
नागरिक सम्मानमा राजदूत नजाने
यसैबीच, सम्मानको विवाद बढ्दै गएपछि प्रमुख अतिथी बनेर कार्यक्रममा जान लागेका राजदूत डा. दुर्गाबहादुर सुवेदी त्यहां नजाने भएका छन् । दूतावास श्रोतका अनुसार, कार्यक्रममा राजदूत उपस्थित हुन नसक्नेबारे आयोजकलाई अवगत गराइसकिएको छ ।
राजदूतको सहभागिता नहुने भएपछि सम्मान ग्रहण गर्न राजी भएका केही अन्य अग्रजले समेत कार्यक्रम बहिष्कार गर्ने तयारी गरेको श्रोतको दावी छ ।
नेपालप्लसमा प्रकाशित समाचारको अंश
के मान र सम्मान किनबेच हुने वस्तु हो रु कि अशल कर्म गरेबापत पाईने दूर्लभ वस्तु हो रु तर बेलायतमा यो किनबेचको वस्तु बनाउँदै छन् केहि नेपालीले । र यो सम्मान किनबेच गर्न लागिएको कार्यक्रममा नेपालीहरुको साझा बेलायतस्थित नेपाली दूतावासका प्रतिनिधीपनि सम्मिलित हुँदै छन् । बेलायतमा नेपाली समुदाय बढ्ने क्रममा छ । अहिले नेपाली डायस्पोरा जति ‘भाइब्रेन्ट’ बन्दैछ, रमिता पनि अनेक अनेक हुन थालेका छन् । यहि रमिताका बिच अर्को रमिता थपिएको हो। मान र सम्मान किनबेच गर्ने कार्यक्रम ।
बेलायतस्थित सामाजिक अभियन्ताहरुलाई नागरिक सम्मान गर्ने भन्दै रामबहादुर सुवेदी (आर के सुवेदी) ले एक कार्यक्रम गर्ने तयारी गरेका हुन् । आगामी २६ डिसेम्बर, २०१७ मंगलबार लन्डनमा कार्यक्रम हुन लागेको छ जसको संयोजन गर्दैछन् सुरेन्द्रप्रसाद श्रेष्ठले ।
आयोजकले ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान २०१७ बेलायत’ थाप्न इच्छुकलाई आवेदन खुल्ला गरिएको जनाउँदै इमेल तथा फोन जारी राखेका छन् । तर, केही अगुवाले भने सम्मान अस्वीकार गरेपछि अन्य कयौं अग्रज पुरस्कार थाप्न आनाकानी गरिरहेका बुझिएको छ । केही अगुवाले भने सम्मान थाप्न आवेदन दिइसकेको बताइएको छ । सम्मान लिन खोज्नेमा पत्रकार देखि डाक्टर र वकिलसम्म रहेको श्रोतको दावी छ । पत्रकार सुवेदीले आफ्नो पृथ्बी परिक्रमा सम्मान अभियान अन्तर्गत बेलायतमा नागरिक सम्मान गर्न लागेको र यसअघि युएइ, मलेसिया, सिंगापुर र थाइल्याण्डपछि बेलायतमा पाँचौं पटक उक्त सम्मान गर्न लागेको बताएपछि कतिपय लोभिएका छन् ।
आर के सुवेदीले सन् २०१६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा हाइ अल्टिच्युड अवार्ड वितरण गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम अंकित गराएको, समुद्रमाथि, समुद्रमुनी, उडिरहेको हवाइ जहाजमा, खाडी मुलुक, युरोप र एसियामा पहिलो पटक नेपाली चलचित्रको अवार्ड वितरण गरेर अन्तर्राष्ट्रिय जगतमा आफूलाई स्थापित गराइसकेको जिकिर गर्दै इमेल पठाएका छन् । यहि जिकिर हेरेरपनि केहि अभियन्ताहरु सम्मान थाप्न लोभिएका हुन् ।
चिन्नु न जान्नु एकजना व्यक्तिले विश्व घुम्ने उद्देश्यले दिने सम्मानको के महत्व छ रु एकजना अभियन्ता प्रश्न गर्छन्, सम्मानको छनोट प्रक्रिया के रु को कसलाई दिने रु दिने व्यक्तिको विश्वसनियता के रु भिजिट भिसामा आएको व्यक्तिलाई चन्दा उठाउँदै कार्यक्रम गर्न बेलायतको कुन कानुनले दिन्छ रु ५१ जनालाई बाँडिने पुरस्कारको महत्व के हुन्छ रु बेलायतको नेपाली समूदायलाई पदकालागि लम्पट देखाउन र निजि स्वार्थ पुरा गर्न आयोजना गर्न लागिएको यस कार्यक्रमले यहाँको नेपाली समूदयलाई थप बदनाम गराउने केहिको तर्क छ । ‘बेलायतका नेपाली पदकालागि ज्यान फाल्छन् भन्ने देखाउँछ । यसलाई रोक्नपनि भिजिट भिसामा आएर पैसा उठानेका बिरुद्द उजुरी गर्नुपर्छ’ एक सामाजिक अभियन्ताले गुनासो गरे ।
उक्त कार्यक्रममा प्रमुख अतिथी बन्न राजदूत डा दुर्गाबहादुर सुवेदी सहर्ष राजी भएको दाबी आयोजकको छ ।