४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

अमेरिकी अन्तरिक्ष यान मंगलग्रहमा अवतरण

नेपालब्रिटेन संवाददाता
७ फाल्गुन २०७७, शुक्रबार ०३:३२

लन्डन । अमेरिकी अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मंगल ग्रहको सतहमा अवतरण गरेको छ । नेपाली समयानुसार शुक्रबार बिहान करिब दुई बजेर चालिस मिनेटमा अमेरिकी ‘पर्सिभिअरन्स रोभर’ले मंगल ग्रहको सतहमा अवतरण गरेको हो ।

मंगल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो । छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मंगल ग्रहनजिक पुगेको हो ।

सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका छन ।

यो सन् १९७० को दशकको भाइकीङ मिसन पछि मंगल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्वाकांक्षी परियोजना हो । एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ ।

आगामी ३० दिनमा पाँच वटा उडान भर्ने मिशन तय गरिएको र त्यसले सम्भवतः मंगल ग्रहको सतहको उच्च गुणस्तरको तस्बिर उपलब्ध गराउने नासाको अनुमान छ । हालसम्म मंगल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन् । ती सबै अमेरिकी अभियान हुन् ।