१८ कार्तिक २०८२, मंगलवार
Follow Us

कुलमानलाई बर्खास्त गरे आन्दोलनमा उत्रने तामाङ समुदायको चेतावनी

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०८१, मंगलवार ०६:२४

काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चाले सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

मोर्चाका अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लीलाकुमार घलानले एक विज्ञप्ति जारी गर्दै घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही या पदमुक्त गरे आन्दोलनमा उत्रने चेतावनी दिएको हो । मोर्चाले घिसिङलाई कारबाही वा पदमुक्त गरिए मुलुकलाई लोडसेडिङ मुक्त गर्ने ऐतिहासिक योगदानको अवमूल्यन हुने स्पष्ट गरेको छ ।

‘मुलुकलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गर्दै विद्युत् निर्यातबाट वैदेशिक मुद्रा आर्जन, विद्युत् महसुल नतिर्ने उद्योगको झण्डै २२ अर्ब बक्यौता असुलीको लागि चट्टानझैँ उभिएका घिसिङको ऐतिहासिक योगदानलाई अवमूल्यन हुनेगरी कुनै पनि निर्णय नगर्न हाम्रो मोर्चा सरकारको ध्यानाकर्षण गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्युत् प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै कारबाही प्रक्रिया अगाडि बढाएको खण्डमा हाम्रो मोर्चा आन्दोनलमा उत्रिने चेतावनी दिन चाहन्छ ।’

मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बाँकी बक्यौता नतिर्ने उद्योगको काटिएको लाइन तत्काल जोड्न दिएको ठाडो निर्देशनलाई ‘जंगबहादुर शैली’ को संज्ञा दिएको छ । विद्युत महसुलको बक्यौता उठ्ने ग्यारेन्टी नभएसम्म उद्योगहरुमा लाइन जोड्न नहुने अडान लिएका कारण प्राधिकरणका दुई सञ्चालकलाई प्रतिशोधपूर्ण ढंगले सरकारले बर्खास्त गरेको मोर्चाले जनाएको छ ।

प्राधिकरणका सञ्चालकहरु कपिल आचार्य र भक्तबहादुर पुनलाई ऊर्जामन्त्री दीपक खड्काले आइतबार पदमुक्त गर्दै काँग्रेसबाट देवेन्द्र कार्की र एमालेबाट महेन्द्रबहादुर गुरुङलाई सञ्चालक नियुक्त गरेका थिए ।

धेरै पढिएको