२० असार २०८३, शनिबार
Follow Us

नेपाल–बेलायत आर्थिक साझेदारी फोरम २०२६ सम्पन्न, दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

नेपालब्रिटेन संवाददाता
२० असार २०८३, शनिबार २२:२०

लन्डन – लन्डनस्थित नेपाली दूतावासले “व्यापार, लगानी, प्रविधि र आउटसोर्सिङमार्फत नेपाल–बेलायत आर्थिक साझेदारीको प्रवर्द्धन” भन्ने मूल नारासहित नेपाल–बेलायत आर्थिक साझेदारी फोरम २०२६ शुक्रवार दूतावास परिसरमा भव्य रूपमा आयोजना गरेको छ।

सम्मेलनमा दुईवटा छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । पहिलो सम्झौता बेलायतको वेस्ट लन्डन चेम्बर अफ कमर्स (WLCC) र नेपाल उद्योग परिसंघ (CNI) बीच तथा दोस्रो सम्झौता वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (NBCCI) बीच सम्पन्न भयो। वेस्ट लन्डन चेम्बर अफ कमर्सका तर्फबाट सीईओ एलेन राइड्स र डेपुटी चेयर डा. रेनु राजले हस्ताक्षर गरेका थिए भने नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे र नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष डा. रोशन राठीले काठमाडौंबाट भर्चुअल माध्यमबाट हस्ताक्षर गरेका थिए।

यी सम्झौताहरूको उद्देश्य द्विपक्षीय व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने, व्यापार तथा लगानीका अवसरहरूको प्रवर्द्धन गर्ने, र दुवै देशका निजी क्षेत्रबीच सहकार्य तथा व्यापारिक सञ्जाल विस्तार गर्ने रहेको छ। दूतावासले दुई देशका निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएर आपसी सहकार्यका सम्भावना पहिचान गर्न यस पहलको सुरुवात गरेको जनाएको छ।

कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले पछिल्ला वर्षहरूमा नेपाल–बेलायत आर्थिक सम्बन्धमा आएको तीव्रता उल्लेख गर्दै नेपाली बजारमा लगानी विस्तार गर्न व्यवसायी समुदायलाई आह्वान गरे । उनले दोहोरो कर हटाउने सम्बन्धी सम्झौताबारे छलफल भइरहेको उल्लेख गर्दै यी समझदारीपत्रहरूले व्यापार र लगानीका नयाँ अवसरहरू खोल्ने विश्वास व्यक्त गरे ।

परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो भिडियो सन्देशमा नेपाल सरकारले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण, पर्यटन विस्तार, प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना तथा विश्वव्यापी मूल्य श्रृंखलामा नेपाललाई अझ सुदृढ रूपमा समेट्ने प्रतिबद्धता व्यक्त गरे । उनले जलविद्युत, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार, उत्पादन, सूचना प्रविधि तथा डिजिटल सेवाजस्ता प्राथमिक क्षेत्रमा बेलायती लगानी स्वागतयोग्य रहेको उल्लेख गरे ।

नेपालका लागि ब्रिटिश सर्वदलीय संसदीय समूहकी अध्यक्ष तथा सांसद एलेक्स बेकरले नेपाललाई केवल विकास सहयोग प्राप्त गर्ने देशको रूपमा नभई आर्थिक साझेदारका रूपमा हेर्नुपर्ने बताइन् । उनले दुई देशबीचको सम्बन्ध केवल ऐतिहासिक आधारमा मात्र सीमित नरही व्यापार, लगानी, शिक्षा, प्रविधि र उद्यमशीलतामा आधारित व्यावहारिक सहकार्यमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।

नेपालका लागि बेलायती राजदूत रोब फेनले लगानी, विशेषज्ञता र साझेदारीका विभिन्न पक्षहरूमा चर्चा गर्दै दुवै सरकारले दिगो वित्त, डिजिटलाइजेशन, स्थानीय नेतृत्व, व्यापार प्रवर्द्धन र जनस्तरको सम्बन्ध सुदृढीकरणमा सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक गतिविधिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि औंल्याए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले भर्चुअल माध्यमबाट मन्तव्य दिंदै दिगो आर्थिक वृद्धि, लगानी प्रवर्द्धन र विश्वव्यापी साझेदारीका लागि नेपालको दृष्टिकोण प्रस्तुत गरे । उनले “मल्टिप्लायर राष्ट्र” को अवधारणालाई अघि सार्दै नेपालको विकासलाई तीव्रता दिन कार्यान्वयनयोग्य प्रणाली, मापनयोग्य परिणाम र विश्वासिलो साझेदारी आवश्यक रहेको बताए ।

कार्यक्रममा लगानी बोर्ड नेपालको कार्यालयबाट विस्तृत प्रस्तुति गरिएको थियो। साथै बेलायती अन्तर्राष्ट्रिय लगानी संस्था, यूके एक्सपोर्ट फाइनान्स, व्यापार तथा व्यवसाय विभाग लगायत विभिन्न सरकारी निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

फोरममा व्यापार, लगानी र डिजिटल अर्थतन्त्रसम्बन्धी रणनीतिक छलफलहरू सञ्चालन गरिएका थिए। बजार पहुँच, लगानी सहजता, कृत्रिम बुद्धिमत्ता, प्रविधि नवप्रवर्तन, आउटसोर्सिङ, व्यावसायिक सेवा र व्यापारिक सहकार्यका विषयमा गहन विमर्श भएको थियो। सहभागीहरूले नीतिगत स्पष्टता, संस्थागत सहकार्य, दक्ष जनशक्ति विकास र सरकार तथा निजी क्षेत्रबीच निरन्तर संवादको आवश्यकता औंल्याएका थिए।

फोरममा १५० भन्दा बढी नीति निर्माता, सांसद, व्यवसायी, लगानीकर्ता, प्रविधि विशेषज्ञ, चेम्बर प्रतिनिधि, उद्यमी तथा नेपाली डायस्पोराका सदस्यहरूको सहभागिता रहेको थियो।

फोरमको पूर्वसन्ध्यामा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सले दूतावासमा रात्रिभोज कार्यक्रम आयोजना गरी व्यवसायी तथा लगानीकर्ताहरूबीच अन्तरक्रिया गराएको थियो।

आफ्नो समापन मन्तव्यमा कार्यवाहक राजदूत विपिन दुवाडीले सबै वक्ता, सहभागी र आयोजकहरूलाई धन्यवाद दिँदै नेपाल–बेलायत आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन दूतावास निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त ग रेका थिए ।

कार्यक्रमको अन्त्यमा नेटवर्किङ सत्र तथा व्यवसायीहरुबीच भेटघाट आयोजना गरिएको थियो, जसले नयाँ साझेदारी र भविष्यका अवसरहरूको पहिचानमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ। कार्यक्रमको सञ्चालन दूतावासका द्वितीय सचिव संजोग राईले गरेका थिए ।

धेरै पढिएको