१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पिटरबरोमा जुट्यो विपन्न बालबालिकालाई २५ सय पाउन्ड

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७९, बिहीबार १८:२३

लन्डन। सामाजिक सेवामा समर्पित पिटरबरोका सामाजिक अभियन्ताहरुको पहलमा सम्पन्न च्यारिटी कार्यक्रममा करिब २५ सय पाउन्ड बढी संकलन भएको छ।

नेपालका विपन्न बालबालिकाको स्वास्थ्य, शिक्षामा सहयोग गर्ने उद्धेश्यले गत सोमबार स्थानीय ‘2020 वर्ल्ड बफे रेष्टुरेन्ट’ मा च्यारिटी साँझ सम्पन्न भएको हो।

संकलित रकम विगत १७ वर्षदेखि धादिङका विकट क्षेत्रमा सहयोग गर्दै आएको बेलायती च्यारिटी संस्था ‘कासिन’ लाई हस्तान्तरण गरिसकिएको कार्यक्रमका एक अगुवा एवम् उक्त च्यारिटीका ट्रस्टी महेश अधिकारीले जानकारी दिए।

धादिङका विभिन्न गाउँमा झन्डै एक दर्जन स्कुल निर्माण लगायत कार्य गरिसकेको सोही च्यारिटीमार्फत् विपन्न भेगका बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोग गरिने उनले बताए।

च्यारिटी साँझमा स्थानीय पिटरबरोसहित मिडल्यान्डका सबै क्षेत्र र लन्डनबाट समेत गरी कुल तीन सय जनाको सहभागिता थियो।

निःशुल्क डिनर व्यवस्था गरिएको कार्यक्रममा नेपालबाट आएका प्रसिद्ध गजल गायक राज सिग्देल, राष्ट्रिय लोकगायक प्रकाश कटुवाल, हाँस्य कलाकारद्वय राजु माष्टर र बल्छी ध्रुबेले सांगीतिक एवम् हांस्य प्रस्तुति गरेका थिए।

स्थानीय समाजसेवीद्वय पवन शर्मा र महेश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा क्यासिन च्यारिटीका अध्यक्ष प्याट्रिक, श्रीमती लिज र स्थानीय पिटरबरोका सांसद पल ब्रीष्टो विशेष अतिथिका रुपमा सहभागी थिए।

अतिथिको रुपमा जेन्स यूकेका अध्यक्ष तिलक भट्टराई, यती नेपाली एसोशिएसनका महासचिव डा. मुकुन्द बाँस्तोलालगायतको उपस्थिति थियो।

त्यस अवसरमा साना बालिकाहरु पल्पसा र आदितिले स्वागत नृत्य गरेका थिए भने साहसी, सान्वी र रहना शर्माले पनि नृत्य गरेका थिए।

पिटरबरो नेपाली समाजका निवर्तमान अध्यक्ष भरत पाण्डेले विशेष अतिथि पल ब्रिस्टो, कासिन अध्यक्ष प्याट्रिक र लिजलाई नेपाली टोपी र खादाले सम्मान गरेका थिए।

समाजसेवी डा राजु सापकोटाले अध्यक्ष प्याट्रिकको बायोग्राफी पढेर सुनाएका थिए।

कार्यक्रममा कासिन च्यारिटी अध्यक्ष प्याट्रिकले यस पवित्र कार्यको लागि कोष संकलन गर्ने आयोजक टिमलाई धन्यवाद दिए।

सांसद पल ब्रिस्टोले परोपकारी सोचसहितको च्यारिटी साँझ पिटरबरोमा आयोजना हुनुले आफूलाई निकै खुशी लागेको भन्दै चाँडै नै नेपाल भ्रमण गर्ने योजना समेत बनाएको जनाए ।

च्यारिटी कार्यक्रमको लागि स्थानीय गायक पूर्णमान बज्राचार्यसहित मिडल्याण्डको नटिङहम, लेष्टर, डर्बी, बर्मिङहम र लन्डनबाट समेत पुगेर सहयोग पुर्‍याएका थिए।

कासिन च्यारिटीका ट्रष्टी एवम् एनआरएनए आइसीसी सदस्य महेश अधिकारीले च्यारिटी कार्यक्रमका पहलकर्ता समाजसेवी, सहभागी एवम् सहयोगी सबैप्रति आभार प्रकट गरेका छन्।