डायस्पोरा

एनआरएनए स्कटल्याण्डद्वारा बाढीपीडितका लागि ५६ लाखभन्दा बढी रुपैयाँ सहयोग हस्तान्तरण

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्याण्डले नेपालमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित बाढीपीडित तथा अन्य विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५६ लाख ३५ हजार १८४ रुपैयाँ सहयोग गरेको छ। संघले विभिन्न संघ–संस्था, आमा समूह, महिला समूह, व्यवसायी, स्वयंसेवक तथा नेपाली र गैरनेपाली समुदायको सहकार्यमा संकलन गरेको उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन चरणमा पठाएको जनाएको छ।

एनआरएनए स्कटल्याण्डले संकलित राहत रकम नेपाल सरकारको सम्बन्धित कोषमा जम्मा गरिएको आधिकारिक प्रमाणसहित सम्पूर्ण विवरण सार्वजनिक गरेको हो। यसअघि पहिलो चरणमा पठाइएको २५ हजार पाउन्डको विवरण सार्वजनिक गरिएको भए पनि दोस्रो र तेस्रो चरणको रकमसमेत समेटेर यसपटक कुल सहयोग रकमको एकमुष्ट विवरण सार्वजनिक गरिएको संघले जनाएको छ।

संघका अनुसार पहिलो चरणमा २५ हजार पाउन्ड अर्थात् नेपाली रुपैयाँ ५१ लाख हस्तान्तरण गरिएको थियो। उक्त रकम हस्तान्तरण गर्दा एक पाउन्ड बराबर २०४ रुपैयाँको विनिमय दर कायम गरिएको थियो। त्यसैगरी दोस्रो चरणमा एक हजार ६०२ पाउन्ड अर्थात् तीन लाख २२ हजार ८०३ रुपैयाँ पठाइएको थियो। उक्त रकमको विनिमय दर एक पाउन्ड बराबर २०१ रुपैयाँ ५० पैसा रहेको थियो।

त्यस्तै, तेस्रो चरणमा एक हजार ५४ पाउन्ड अर्थात् दुई लाख १२ हजार ३८१ रुपैयाँ सहयोग रकम नेपाल पठाइएको थियो। उक्त रकम एनआरएनए स्कटल्याण्डसँग आबद्ध अनिल सापकोटाले ग्लास्गोदेखि एडिनबर्गसम्म आयोजना गरेको अल्ट्रा म्याराथन दौड अभियानमार्फत संकलन गरेका थिए।

तीनवटै चरणमा गरी कुल २७ हजार ६५६ पाउन्ड संकलन तथा हस्तान्तरण गरिएको संघले जनाएको छ। नेपाली रुपैयाँमा यसको कुल रकम ५६ लाख ३५ हजार १८४ रहेको छ। उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर ११३०१००००३७६२००१ मा पठाइएको हो।

एनआरएनए स्कटल्याण्डका अनुसार AYORemit बाट प्राप्त आधिकारिक पत्रमा तीनवटै चरणमा पठाइएको रकम सम्बन्धित लाभग्राही खातामा सफलतापूर्वक हस्तान्तरण भएको उल्लेख छ। सोही प्रमाणलाई आधार मानेर संघले राहत रकमको विवरण र हस्तान्तरणसम्बन्धी जानकारी सार्वजनिक गरेको जनाएको छ।

तेस्रो चरणको सहयोगका लागि अल्ट्रा म्याराथन अभियान सञ्चालन गर्ने अनिल सापकोटाप्रति संघले विशेष सम्मान तथा आभार व्यक्त गरेको छ। मातृभूमि नेपाल विपत्तिमा परेका बेला ग्लास्गोदेखि एडिनबर्गसम्मको लामो दूरी दौडेर राहत रकम संकलन गर्नु उनको साहसिक, प्रेरणादायी र मानवीय कार्य भएको संघको भनाइ छ। उक्त अभियानमा आर्थिक सहयोग, हौसला र साथ प्रदान गर्ने सम्पूर्ण सहयोगीहरूप्रति पनि एनआरएनए स्कटल्याण्डले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

संघले यो सहयोग कुनै एक व्यक्ति वा संस्थाको निजी रकम नभई स्कटल्याण्डमा रहेका नेपाली तथा गैरनेपाली समुदायको सामूहिक विश्वास, सद्भाव र योगदानबाट संकलित सार्वजनिक सहयोग भएको स्पष्ट पारेको छ। राहत अभियानमा कुन स्थानबाट कति रकम संकलन भयो र कुन–कुन संघ–संस्था, समूह तथा व्यक्तिगत सहयोगदाताले कति योगदान गरे भन्ने विस्तृत विवरण यसअघि नै सार्वजनिक गरिसकिएको पनि संघले जनाएको छ।

यसैबीच, राहत रकम संकलनदेखि नेपाल सरकारको कोषमा हस्तान्तरण गर्दासम्मको सम्पूर्ण आय–व्यय विवरण पुनः एकपटक फेसबुक लाइभमार्फत समुदायसमक्ष प्रस्तुत गर्ने तयारी भइरहेको संघले जनाएको छ। उक्त कार्यक्रममा सहयोग रकमको स्रोत, खर्च तथा हस्तान्तरण प्रक्रियाबारे विस्तृत जानकारी दिइनुका साथै समुदायका सदस्यहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको समेत स्पष्ट जवाफ दिने प्रयास गरिने बताइएको छ।

त्यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट उक्त रकम प्राप्त भएको छुट्टै आधिकारिक पुष्टि प्राप्त गर्ने प्रयाससमेत जारी रहेको एनआरएनए स्कटल्याण्डले जनाएको छ। सम्बन्धित निकायबाट औपचारिक पुष्टि प्राप्त हुनासाथ त्यसलाई पनि सार्वजनिक गरिने संघको भनाइ छ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता