२३ बैशाख २०८१, आईतवार
Follow Us

एमाले–माओवादीको संघीय संरचनाअनुसार पार्टी सांगठनिक

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०७४, आईतवार ०४:०१

काठमाडौं । एमाले र माओवादी केन्द्रले संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन् । दुई दलको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको पहिलो बैठकले नेपालको संविधानअनुसार नै पार्टी संरचनालाई संघीय ढाँचामा अगाडि बढाउने गरी छलफल सुरु गरेको हो ।
दुई पार्टीको संगठनात्मक अनुभव आदानप्रदानबाट कार्यदलले औपचारिक रुपमा काम सुरु गरेको एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो । बैठकले यही फागुन २५ गतेभित्र कार्यदललाई तोकिएका काम सम्पन्न गर्न कार्यतालिका बनाएर अघि बढ्ने निर्णय गरेको छ ।
बैठकमा एमाले र माओवादी केन्द्रका संगठनात्मक ढाँचा, अभ्यास तथा अनुभवका बारेमा एक अर्का पार्टीको जानकारी आदानप्रदान गर्ने काम भएको नेता विष्टले बताउनुभयो ।
माओवादी केन्द्रका नेता रामबहादुर थापाको अध्यक्षतामा बसेको कार्यदलको बैठकले अन्तरिम विधान मस्यौदा तयार पार्दा निश्चित विधि र मापदण्ड अपनाउनेसमेत निर्णय गरेको छ । कार्यदलको अर्को बैठक पर्सि एमाले केन्द्रीय कार्यालयमा बस्नेछ ।