३० बैशाख २०८१, आईतवार
Follow Us

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७७, शनिबार ०४:२५

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा वीरगञ्जको घन्टाघरमा मृत फेला परेका ब्यक्ति र वीरगञ्ज हेल्थ केयर उपचारका क्रममा मृत्यु भएका बाराका पाँच वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जको घण्टाघरस्थित खाली जग्गामा रहेको पार्किङस्थलमा मृत भेटिएका व्यक्तिको परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ । अन्दाजी २५ वर्षका पुरुषको बेवारिसे अवस्थामा बिहीबार दिउँसो शव भेटिएपछि स्वाब संकलन गरी परीक्षण गरिएको थियो । मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन ।

त्यस्तै वीरगञ्ज–१४ बहुअरीस्थित वीरगंज हेल्थ केयर अस्पतालमा शुक्रबार मृत्यु भएका पाँच वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएपछि बारा निजगढका ति बालकको स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि नारायणी अस्पताल पठाइएको थियो । परीक्षणका क्रममा उनमा पनि संक्रमण पुष्टि भएको हो ।

निमोनियाको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसैबिच पर्सामा ३ वर्षका बालकसहित थप पाँचजनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका कुम्हाल टोलका दुई जना तथा सखुवा प्रसौनीको क्वारेन्टिनमा रहेका तीनजनामा संक्रमण देखिएको हो । क्वारेन्टिनमा रहेकी ३० वर्षीया महिला, १५ वर्षीय किशोर र ३ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो ।