लण्डन । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले सरकारले शुक्रबार सार्वजनिक गरेको बजेटलाई नेपालको इतिहासमै सबैभन्दा जोखिमपूर्ण बजेटको संज्ञा दिएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले प्रस्तुत गरेको बजेट अत्यन्त महत्वाकांक्षी भएको उल्लेख गर्दै उनले यसको सफलताले देशको आर्थिक भविष्य निर्धारण गर्ने बताएका छन्। उनका अनुसार बजेटको सबैभन्दा सबल र निर्बल पक्ष नै यसले लिएको उच्च जोखिम हो।
गुरुङले बजेट समग्रमा व्यवहारिक देखिएको र यसले विभिन्न क्षेत्रलाई सन्तुलित रूपमा समेट्ने प्रयास गरेको अनुभूति दिलाए पनि यसको सबैभन्दा ठूलो चुनौती प्रभावकारी कार्यान्वयन रहेको बताए। उनले बजेट पूर्ण रूपमा कार्यान्वयन हुन सकेमा यो देशकै उत्कृष्ट बजेट बन्न सक्ने धारणा व्यक्त गरे। त्यसो भएमा आर्थिक समृद्धिको नयाँ आधार तयार हुने, सुशासनको थिति बस्ने, विकासका लागि आवश्यक पूर्वाधार निर्माण हुने तथा आधुनिक सूचना प्रविधि र नवप्रवर्द्धनका क्षेत्रमा अभूतपूर्व अवसर सिर्जना हुने उनको भनाइ छ। साथै ठूला देखि साना लगानीसम्मका लागि अनुकूल वातावरण बन्ने उनले उल्लेख गरे।
तर बजेट कार्यान्वयन हुन नसकेमा भने यसको परिणाम अत्यन्त भयावह हुन सक्ने उनले चेतावनी दिएका छन्। यस्तो अवस्थामा आर्थिक असमानता बढ्ने, मूल्यवृद्धि अत्यधिक हुने, देश आन्तरिक तथा बाह्य ऋणको चापमा पर्ने र जनजीवन कष्टकर बन्न सक्ने उनको भनाइ छ। उनले चरम मुद्रास्फीति र असमानताले गरिबी बढाउँदै देशलाई आन्तरिक द्वन्द्वतर्फ धकेल्न सक्ने आशंका पनि व्यक्त गरे।
गुरुङले कर नीतिमा समेत असन्तुष्टि जनाएका छन्। उनले हालको कर प्रणालीलाई निरन्तरता दिनु गलत कदम भएको उल्लेख गर्दै वैकल्पिक प्रणाली लागू गरिएको भए राजस्व संकलन बढ्ने र कर प्रणाली अझ निष्पक्ष बन्ने बताए।
यस्तै, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनमा कर घटाउन वा हटाउनुपर्नेमा त्यसो नगर्नु कमजोरी भएको उनले बताए। भन्सार नीति सम्बन्धमा पनि उनले सुधार आवश्यक रहेको उल्लेख गर्दै एउटै प्रकारका सामानमा समान भन्सार दर निर्धारण गरिनुपर्ने धारणा राखे। उनका अनुसार भन्सार शुल्क अधिकतम ७५ प्रतिशतमा सीमित गरिएमा राजस्व संकलन बढ्ने र तस्करी नियन्त्रणमा सहयोग पुग्ने थियो।