नेपाली कांग्रेसको १५ औं महाधिवेशन फागुन २१ को चुनावअघि गर्ने कि पछि भन्नेमा केन्द्रीय समितिमा झण्डै एक महिनादेखि मतभेद भइरहेका बेला सभापति शेरबहादुर देउवानिकट २५ जना केन्द्रीय सदस्यहरूले भेला गरेर चुनावअघि महाधिवेशन नै ‘बटमलाइन’ भएको निष्कर्ष निकालेका छन्।
२०७८ साल मंसिर २४ देखि २८ गतेसम्म चलेको १४ औं महाधिवेशनमा देउवा समूहबाट उम्मेदवारी दिई निर्वाचित तथा केही सभापति देउवाबाट मनोनीत केन्द्रीय सदस्यहरूले महाधिवेशन गरेर मात्रै फागुन २१ को निर्वाचनमा भाग लिनुपर्ने निष्कर्ष निकालेका हुन्।
उनीहरूले महाधिवेशन गरेर मात्रै चुनाव गर्नुपर्छ भन्ने निष्कर्ष लिखित रूपमा अब बस्ने केन्द्रीय समितिमा पेस गर्ने तयारी पनि गरेका छन्। अब कात्तिक २५ गते बिहान साढे ११ बजे केन्द्रीय समिति बैठक बस्दैछ।
‘सोल्टीमोडको एक पार्टी प्यालेसमा आज हामी छलफलमा जुटेका थियौं, १४ औं महाधिवेशनमा देउवा प्यानलबाट उम्मेदवार भई चुनाव जितेका केन्द्रीय सदस्यहरूबीच १५ औं महाधिवेशन कार्यतालिकाकेन्द्रित कुराकानी भएको हो,’ छलफलमा सहभागी एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, ‘पुस तेस्रो साताभित्रै नियमित महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ। अब बस्ने केन्द्रीय समितिमा यो कुरा लिखित रूपमै राख्छौं।’ छलफलमा पदाधिकारीहरूलाई बोलाइएको थिएन।
‘छलफलमा हामी २५ जना केन्द्रीय सदस्यमात्रै थियो। पार्टी सुदृढीकरण गर्न चुनावअघि महाधिवेशन गर्नुपर्छ भन्ने सबैजसोको राय आयो। जेनजीले भदौ २३ र २४ को आन्दोलनमा उठका विषय, पार्टीको चार वर्षे कार्यकाल मूल्यांकनलगायत कुराकानी भयो,’ ती केन्द्रीय सदस्यले भने। छलफलको संयोजक राजेन्द्रकुमार केसीले गरेका हुन्।
छलफलमा पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, अमृत अर्याल, अब्दुल सत्तार, आङ्गेलु शेर्पा, प्रदीप सुनुवार, डिला संग्रौला, धना खतिवडा, नानु बास्तोलालगायत रहेको ती केन्द्रीय सदस्यले बताए।
सभापति शेरबहादुर देउवाले असोज २८ गते सानेपास्थित केन्द्रीय कार्यालय पुगेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। सभापति देउवा भने उपचारका लागि सिंगापुर गएका छन्।
१५ औं महाधिवेशन कार्यतालिकाबारेमा कांग्रेस एकमत हुन सकेको छैन।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ मै कार्यवाहक सभापतिलाई भेटेर विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर पनि बुझाएका थिए।