काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । काँग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा गर्ने सहमति भएसँगै आज बैठक बस्न लागेको हो ।
आज बस्ने केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्ने जनाइएको छ ।
आइतबार कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट पार्टी सभापतिको आग्रह बमोजिम कार्यतालिका प्रस्ताव तयार पारेका छन् ।
यसअघि महामन्त्री र सहमहामन्त्रीका अलगअलग प्रस्ताव पेस भएकाले सहमतिको प्रस्ताव कार्यवाहक सभापति खड्काले नै पेस गर्न लागेको जनाइएको छ । कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभएर निर्णयार्थ पेस हुने बताइको छ ।